कार्तिक १ गतेदेखि हेटौंडा अस्पतालमा मोबाइल मार्फत टिकट बुकिङ सेवा सुरु हुने

स्वर्णिम खबर
३० आश्विन २०८१, बुधबार १७:५९

३० असोज, हेटौँडा । हेटौँडा अस्पतालले बिरामीलाई सजिलो बनाउन मोबाइलमार्फत टिकट बुकिङ सेवा सुरु गरेको छ ।
यो सेवा कार्तिक १ गतेदेखि लागू हुनेछ । अब बिरामीले अस्पतालमा लामो लाइनमा बस्न नपर्ने र घरमै बसेर मोबाइलबाटै टिकट बुक गर्न सक्नेछन् । अस्पतालले नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुक गर्न सकिने व्यवस्था गरेको हो ।
अस्पतालको नयाँ प्रणाली अनुसार बिरामीले मोबाइल एप मार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन् । पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुक गर्न सक्नेछन् ।
साथै, परिवारका अन्य सदस्यका लागि पनि यस एप मार्फत टिकट लिन सकिनेछ । जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुक गर्नुपर्ने अस्पतालले जनाएको छ । यो सेवाले अस्पतालमा आउने बिरामीलाई लामो लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउने विश्वास गरिएको छ । बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्नेछन् । मोबाइलबाट टिकट बुक गर्न बिरामीले पहिले अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्छ। त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ। दर्ता गरेपछि बिरामीले कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*