जग्गा दान लिएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छः महामन्त्री शर्मा

स्वर्णिम खबर
३० आश्विन २०८१, बुधबार १७:१२

३० असोज, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताउनुभएको छ ।
सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गर्नुभएको सहयोगको बिरोध गर्नुभएको हो । उहाँले एक अर्ब रुपैयाँ भन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताउनुभयो ।
व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको महामन्त्री शर्माको भनाई छ । उहाँले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको बताउनु भयो ।
प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको उहाँले बताउनु भयो । महामन्त्री शर्माले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभइ राजनीतिप्रति प्रश्न उब्जिएको बताउनु भयो ।
दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रिय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गर्नुभएका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिनुभएको छ । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेता÷कार्यकताहरुले नै नेतृत्वको विरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*