११ कराेडकाे अवैध सुन सहित हेटाैंडामा २ जना भारतीय नागरिक पक्राउ
१९ असाेज, हेटाैंडा । मकवानपुर प्रहरीले ११ करोड रुपैयाँको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसाका अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हाे ।
पक्राउ पर्नेहरुमा भारतका महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयाे ।
मकवानपुर प्रहरीका अनुसार, बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो । सो क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काको टोलीले पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।