कार्यबहाक प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, प्रचण्डले बोलाएको बैठक स्थगित
१३ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।
अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।
प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएको सर्वदलीय बैठक स्थगित गरिएको भएको छ ।
सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।