शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
११ आश्विन २०८१, शुक्रबार ११:४५

११ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै उहाँले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभएको हो । नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको समेत उहाँले स्पष्ट पार्नुभयो । नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो ।
नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको ‘कसैलाई पछाडि नछाडिने’ सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै प्रधानमन्त्री ओलीले यो नेपालको संविधानमा समाहित रहेको जानकारी गराउनुभयो । यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राखेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने तयारीमा रहेको समेत बताउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्न २४ अर्ब अमेरिकी डलरको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण नेपाल प्रभावित भएकोबारे विश्व समुदायको ध्यानाकर्षण समेत गराउनुभयो । प्रधानमन्त्री ओलीले हरितगृह ग्यास उत्सर्जनमा नेपालको शून्य योगदान भए पनि जलवायु परिवर्तनका प्रभावबाट पिरोलिएको बताउनुभयो ।
नेपाल पेरिस सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले सन् २०४५ सम्ममा शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको र जुन विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको व्यापक र शृङ्खलाबद्ध प्रभावहरूलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सहयोगात्मक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*