बागमती प्रदेशसभा बैठकबाट ३ वटा विधेयक सर्वसम्मत रूपमा पारित

स्वर्णिम खबर
७ आश्विन २०८१, सोमबार १९:१७

७ असोज, हेटौँडा । बागमती प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकले २ समितिले संसदमा पेस गरेको छलफल तथा संशोधन प्रस्तावको निर्णय सहितको प्रतिवेदनलाई पारित गरेको हो । प्रदेशसभाको बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त विधेयकहरूलाई निर्णायार्थ पेस गर्नुभएको थियो । सभामुख पाठकले निर्णायार्थ पेस गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन् ।
प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गरी संशोधनको निर्णय सहित प्रतिवेदन पेस गरेको थियो । उद्योग पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयकमाथि छलफल गरी संशोधनको निर्णयसहित प्रतिवेदन पेस गरेको थियो ।
यससंगै सभामुख पाठकले अर्को सुचना नभएसम्मको लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*