संविधान संशोधन सरकारको मात्रै विषय होइनः सभामुख घिमिरे
६ असोज, काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताउनुभएको छ ।
आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताउनु भयो ।
उहाँले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी शुरु भएको भन्दै यो दुःखद् रहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट शुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गर्नुभयो ।
सभामुख घिमिरेले व्यवहारमा गरेका अनुभव र जनताको समस्याहरुलाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताउनु भयो । संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताउनु भयो । संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रुपमा लिन नहुने बताउनु भयो । उहाँले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
सभामुख घिमिरेले न्युनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।