६७ बुँदामा बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
६ असोज, हेटौँडा । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।
सरकार गठन भएको दुई महिनापछि आइतबार पत्रकार सम्मेलन गर्दै ६७ बुँदामा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा संघीय सरकारसंगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना गर्ने, संबिधानको सर्बोच्चता कानूनी राज्य र सुशासनको प्रत्याभुती दिलाउनेगरी सरकार सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
त्यसैगरी सुशासन, भ्रष्टाचारमा सुन्य सहनशीलता, राजनीतीक स्थायित्वका लागि संबिधान र कानूनमा संसोधन गर्न संघीय सरकारलाई सहयोग गर्ने जस्ता विषय बागमती प्रदेश सरकारको न्युनत्तम साझा कार्यक्रममा समेटिएका छन् ।
प्रदेश सरकारले सुरु गरेका अधुरा आयोजनाहरु सम्पन्न गर्ने, विपन्न नागरिकका लागि सुरक्षीत आवास, बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क औषधि उपचार गर्ने, कला संस्कृति र सम्पदाको संरक्षण गर्ने बन अतिक्रमण रोक्ने लगायतका विषय समेत न्युनत्तम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा सहित सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रदेश सरकारका मन्त्रीहरु, सांसद्हरु सहित राप्रपाका संसदीय दलका नेता उद्धव थापाको समेत सहभागिता रहेको थियो ।