गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानको मार्गदर्शनः प्रदेश प्रमुख देवकोटा

मनिल महतो
३ आश्विन २०८१, बिहीबार ११:५०

३ असोज, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानको मार्गदर्शन भएको बताउनुभएको छ ।
संविधानको मर्म र भाबनालाई अक्षरस पालना गरेमा देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्ने उहाँको भनाई छ । संविधान दिवस २०८१ को अवसरमा प्रदेश सरकारले बिहिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै जादा सकारात्मक परिणाम आउने उल्लेख गर्नुभयो ।
संविधानको कार्यान्वयनमा सबै पक्ष इमान्दार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश प्रमुख देवकोटाले वर्तमान संविधानले जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरेको बताउनुभयो । इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज वर्तमान संविधान भएको उहाँको भनाई छ ।


यसैगरी कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिं लामाले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको बताउनुभयो । विगतमा सिंहदरबारको गेटबाट फर्किने गरेको गुनासोहरु अहिले प्रदेश सरकारबाट सम्बोधन हुने गरेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकारलाई सबलीकरण गर्न जरुरी भएको बताउनुभयो । संघीयता कार्यान्वयनको ७ वर्षको अवधिमा प्रदेश सरकारले पहिचान गरिएका ९९ वटा कानुन मध्ये ८० वटा कानुन बनाइसकेको उहाँले बताउनुभयो ।


कार्यक्रममा बोल्नुहुँदै प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संविधानलाई असफल बनाउने तत्वहरु सल्बलाईरहेको बताउनुभयो । संविधानका निर्माणकर्ताहरु संविधानको संरक्षणमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । केन्द्र सरकारले कानुनहरु बनाउन ढिलाई गर्दा संघीयता अझै पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संविधान दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको थियो । त्यसअघि सांस्कृतिक झाँकीसहित भुटनदेवी माविबाट निस्किएको प्रभातफेरी बुद्धचोक–चौकिटोल–मानसचोक हुँदै मुख्यमन्त्री कार्यालयमा पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*