शिक्षामा प्रदेश सरकारले लगानी बढाएको छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२ आश्विन २०८१, बुधबार १६:३३

२ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शिक्षा क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
शिक्षा क्षेत्रमा लगानी गरे मात्र राम्रो नागरिक उत्पादन हुने भएकोले प्रदेश सरकारले शिक्षामा लगानी बढाएको उहाँको भनाई छ ।
शिक्षा विकास निर्देशनालय हेटौँडाको आयोजनामा शिक्षा दिवस २०८१ को अवसरमा बुधबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले विगतको भन्दा अहिले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभयो ।
सामुदायिक विद्यालय सुधारको लागि शिक्षक, अभिभावक, विद्यार्थी सबैको भूमिका उत्तिकै रहेको समेत उहाँको धारणा थियो । मुख्यमन्त्री लामाले निजी विद्यालयमा जस्तै अभिभावकले पनि आफ्ना बालबच्चालाई विशेष ध्यान दिएर पढ्न पठाउने र स्याहार गरे नतिजा अझैँ सुधार हुँदै उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका उत्कृष्ट सामुदायिक र संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ । सामुदायिक तर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाण्डौको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौँको तरूण माध्यमिक विद्यालय र श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।


त्यस्तै संस्थागत तर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाङ्करी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १ लाख, ८० हजार र ७० हजार नगद पुरस्कार पाएका छन् । चौंथो र पाँचौ हुनेलाई क्रमशः ६० हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी राष्टिय शिक्षा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा बाँसबारी मावि काठमाडौंकी स्मृति चौंलागाई प्रथम, स्याउरीभूमि माध्यामिक विद्यालय नुवाकोटकी सुमना बुढाथोकी द्धितीय र भालेश्वर मावि काभ्रेकी अविना कार्की तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १०, ८ र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*