सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न सक्दैनः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२ आश्विन २०८१, बुधबार १६:१८

२ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभएको छ ।
निजी क्षेत्रसंगको समन्वय बिना सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न नसक्ने उहाँको भनाई छ । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले रोजगारीका अवसर सिर्जना गर्न उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउने वातावरण बनाउन नसकिरहेको समेत जिकिर गर्नुभयो । मुख्यमन्त्री लामाले लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको पनि औल्याउनुभयो ।


यसैगरी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उद्योगको क्षेत्रमा तीन वटै तहको सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वदेशी उद्योगमा उत्पादित बस्तु उपयोग हुन नसक्दा उद्योग धरायसी हुने स्थितिमा पुगेको उहाँको भनाई छ । मन्त्री तामाङले सरकार र उद्योगी बीच रहेको खाँडल हटाउन प्रदेश सरकार तत्पर रहेको समेत बताउनुभयो ।
बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य उद्योगी व्यवसायीहरुले सरकाले अझै पनि उद्योग मैत्री ऐन, कानुन बनाउन नसकेको गुनासो गरेको थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*