वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताः मंगलबार ४ वटा खेल सम्पन्न

स्वर्णिम खबर
१ आश्विन २०८१, मंगलवार १८:२७

१ असोज, हेटौँडा । हेटौंडा–८ मा जारी वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मंगलबार ४ वटा खेल सम्पन्न भएको छ ।
मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा वडा नं. ४, वडा नं. ११, वडा नं.१९ र वडा नं. १० बिजयी भएको हो ।
दिनको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. १ लाई ६६ रनले पराजित गरेको हो । १ सय ७५ रनको लक्ष्य पाएको वडा नं. १ ले १७ ओभर ५ बलमा अल आउट हुँदै १ सय ८ रन मात्र बनायो । यसअघि टस जितेर पहिलो व्याटिङ गरेको वडा–४ ले १४ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । उक्त खेलको म्यान अफ दि म्याच ५ विकेट लिएका वडा नं. ४ का सिसिर पौडेल घोषित भए ।
यस्तै दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ५ लाई ७३ रनले पराजित गरेको हो । १ सय ७७ रनको लक्ष्य पाएको वडा नं. ५ ले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो । टस जितेर पहिलो व्याटिङ गरेको वडा–११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १ सय ७६ रन बनाएको थियो । उक्त खेलमा १ सय २ रन बनाएका वडा नं. ११ का असिम श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
यस्तै मंगलबारको तेस्रो खेलमा वडा नं.१९ विजयी भएको छ । हेटौंडा–६ लाई ५३ रनले हराउँदै हेटौंडा–१९ विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको हेटौंडा–१९ ले १३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन जोडेको थियो । जवाफी व्याटिङ गरेको हेटौंडा–६ ले १२ ओभर ३ बलमा सबै विकेट गुमाएर ५० रन मात्र जोड्न सक्यो । बलिङतर्फ सर्वाधिक ३ विकेट लिएका हेटौंडा १९ का विशेष थापा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दिनको अन्तिम खेलमा वडा नं. १० ले वडा नंं १२ लाई ७४ रनले पराजित गरेको हो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको १० नं. वडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । २ सय ११ रनको लक्ष्य पछ्याएको १२ नं. वडाले १८ ओभर ३ बलमा १० विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । असोज ५ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, द्वितिय हुने टिमले नगद २५ हजार प्राप्त गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*