गगनलाई रविको जवाफः ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’
१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गर्नुभयो । यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।
कार्यक्रममा उहाँले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताउनु भयो । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गर्नुभयो ।
सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरु ननाङ्गिन आग्रह गर्नुभयो । उहाँले रास्वपा नसकिएको भन्दै अरुलाई रास्वपाले सक्काउने चेतावनी समेत दिनुभयो ।