संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन बागमती प्रदेश सरकारको अपील
३१ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन अपील गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले असोज २, ३ र ४ गते तीन दिन संविधान दिवसको अवसरमा आयोजना हुने विविध कार्यक्रममा सहभागिता जनाउन प्रदेशबासीमा अपिल गर्नुभएको हो ।
ऐतिहासिक दिनलाई उत्सवका रुपमा मनाउँदै तीन दिन राष्ट्रिय झण्डा सजाउन तथा साँझ घरघरमा दिपावली गर्न सबै जनसमुदायमा प्रदेश सरकारले आग्रह गरेको छ ।
बागमती प्रदेशमा संविधान दिवस भव्य रुपमा मनाउनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
दिवसको अवसरमा प्रदेश सरकारले निबन्ध प्रतियोगिता, वृक्षारोपण, सरसफाई, रक्तदान, अपांगता भएका व्यक्तिलाई आवश्यकता अनुसार कृत्रिम हातखुट्टा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य शिविर, सार्वजनिक सवारी साधनमा राष्ट्रिय झण्डा फहराउने लगायत विभिन्न कार्यक्रमहरु गर्ने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
असोज ३ गते संविधान दिवसको दिन प्रदेश राजधानी हेटौंडामा मूल समारोह आयोजना गरिएको उहाँले बताउनुभयो । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम हुने छ ।