कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौडाले मनायो ६३ औं वार्षिक उत्सव

स्वर्णिम खबर
३१ भाद्र २०८१, सोमबार १७:३०

३१ भाद्र, हेटौँडा । सुरक्षित भविष्यका लागि निवृत्तिभरण तथा सञ्चय कोष नाराका साथ कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौडाले ६३ औं वार्षिकोउत्सव मनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका निमित्त प्रमुख सचिव कृष्ण कुमार कार्कीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव समारोह आयोजना गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै निमित्त प्रदेश सचिव कार्कीले कर्मचारी सञ्चय कोषले आफ्नो सेवा प्रभावलाई स्तरीय बनाउन यसका लगानीका दायराहरु विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले सञ्चयकर्ताको रकमलाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । स्रोत माथिको दिगो व्यवस्थापन कोषको चूनौति रहेको बताउँदै यस विषयमा समिक्षा गर्न जरुरी रहेको उहाँको भनाई थियो । उहाँले प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तिभरण कोषमा समेट्नका लागि कानूनी स्पष्टता आवश्यक रहेको बताउनुभयो ।


कार्यालय प्रमुख दिलिपराज पौडेलले कोषको गतिबिधि तथा सेवा सुविधाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । २०६२ सालमा स्थापना भएको हेटौडा शाखा कार्यालयले सञ्चयकर्ता सापटी तर्फ घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी, जग्गा खरिद र सरल सापटी तर्फ हेटौडा शाखाबाट मात्रै २ हजार ८ सय ६१ सञ्चयकर्तालाई रु. २ अर्व ५९ करोड २८ लाख ५४ हजार ८७५ सापटी प्रभाव गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।


सामाजिक सुरक्षण कार्यक्रम तर्फ काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ती, औषधी उपचार, सुत्केरी तथा शिशुहेरचाह सुविधावापत १ हजार ६ सय ७८ जनालाई रु १ करोड ५१ लाख ३६ हजार कार्यालयले प्रदान गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले विशेष सापटीतर्फ ४ करोड ४० लाख प्रवाह गरेकोमा १ करोड ५५ लाख भुक्तानी भएको छ ।
यस कार्यालयले बागमती प्रदेशका चितवन र मकवानपुरका साथै मधेश प्रदेशको बारा र पर्सा जिल्लाका कर्मचारीलाई सेवा दिदै आएको छ । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, चारवटै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*