रास्वपा लक्षित विश्वप्रकाश शर्माको टिप्पणीः जन्ममितिले राजनीतिक दल नयाँ हुँदैन
३० भाद्र, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठुलठुला परिवर्तनको नेतृत्व कांग्रेसले गरेकोले अब सानोसानो सुधारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताउनुभएकाे छ ।
सबैलाई मिलाएर देश रुपान्तरणको जिम्मा पनि कांग्रेसीहरुले लिनुपर्ने उहाँको भनाई छ । महामन्त्री शर्माले भर्खर उदाएका दलहरुबाट मुलुकको समृद्धि र रुपान्तरण दुबै सम्भव नहुने बताउनुभयो ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको अन्तर संवाद कार्यक्रमलाई हेटौंडामा सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले जन्ममितिले राजनीतिक दल नयाँ नहुने बताउनुभयो । विचार, प्रवृत्ति र व्यवहारले दल नयाँ र पुरानो हुने उहाँको भनाई थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै महामन्त्री शर्माले नैतिक रुपले चौथो दल सरकारमा जान नमिल्ने बताउनुभयो । उहाँले रास्वपाका सभापति गृहमन्त्री नै चाहियो भनेर सरकारमा गएको उल्लेख गर्नुभयो ।
महामन्त्री शर्माले संविधान संशोधन गर्दा समावेशी सहभागितालाई नहटाईने बताउनुभयो । माओवादी केन्द्रले लगाएको अरोपलाई खण्डन गर्दै उहाँले विपी कोइराला प्रधानमन्त्री हुँदा समावेशीता कांग्रेसले हालेको जग भएकोले समावेशी सहभागिताको सुनिश्चित्ता हुने गरी संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो । महामन्त्री शर्माले अग्रगामी काम हुने गरी संविधान संशोधन गरिने बताउनुभयो ।
त्यसैगरी कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंयाले नेपाली कांग्रेस सिद्धान्त र विचारमा अडिने पार्टी भएको बताउनुभयो । उहाँले आफ्नै पार्टीका नेताहरु कुनै काण्डमा मुछिए न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिने पार्टी कांग्रेसमात्र भएको दाबी गर्नुभयो । नयाँ पार्टीको अहमता र अहंकारलाई समेत नेता, कार्यकर्ताले चिन्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिका कार्य अनुभव, कार्य समिक्षा, स्थानीय तहका अधिकारका विषयमा छलफल, स्थानीय तह र प्रदेश बिचको समन्वयात्मक अन्तरसम्बन्ध, बाझिएका ऐन लगायत, जिल्ला सम्मेलनले पास गरेका विषयका बारेमा छलफल हुने छ । कार्यक्रममा वडा सदस्य, अध्यक्ष, स्थानीय तह प्रमुख उपप्रमुख, जिसस सदस्य, गाउँ नगर कार्य समिति सदस्य, उम्मेदवार समेतको कार्यक्रममा उपस्थिति रहेको थियो ।