४ नं. वडा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
२८ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं.४ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको छैटौ बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको ४ नम्बर वडाकी सदस्य एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सह–संयोजक गिता त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो । पछाडि परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागिपरेको उहाँले बताउनुभयो । यस वडामा १८ वर्ष मुनिका ४ हजार २ सय ७० जना बालबालिका रहेका छन् ।
त्यसअघि हुप्रचौरबाट सुरु भएको बाजागाजा झाँकी सहितको बृहत प्रभातफेरी वडा परिक्रमा गरी कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा पुगेको थियो ।