अशक्त बालबालिकाका लागि प्रदेश सरकारले बजेट छुट्टयाउँछः मन्त्री काफ्ले
२७ भाद्र, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अशक्त बालबालिकाका लागि प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्टयाउने बताउनुभएको छ ।
बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले सो कुरा बताउनुभएको हो ।
सरकारले गर्नुपर्ने दायित्व आशा विशेष पाठशालाले निर्वाह गरेको भन्दै मन्त्री काफ्लेले प्रशंसा समेत गर्नुभयो । उहाँले अब देश बनाउन तीन तहको सरकारसँगै युवाहरुको पनि उत्तिकै भूमिका रहेको बताउँदै त्यसमा हातेमालो गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
आफूले बौद्धिक अपांगताका विषयमा यसै विद्यालयमा आएर बुझ्ने अवसर पाएको बताउँदै उहाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाको संरक्षणमा राज्यले नीति नै ल्याएर अगाडी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बौद्धिक अपांगता भएका बालबालिकाको उचित शिक्षा प्रदान गर्नका लागि पाठशाला सञ्चालनमा ल्याइएको आशा विशेष पाठशाला एवं पूर्नस्थापना केन्द्रकी सञ्चालिका आइना बार्का न्यौपानेले बताउनुभयो । १३ कोठे दोस्रो तला निर्माणका लागि ७० लाख लागत लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौंलागाईले जानकारी दिनुभयो । भवन निर्माणका लागि हेटौडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग र बाँकी रकम दाताको आर्थिक सहयोगबाट नै जुटाइएको उहाँले बताउनुभयो ।