प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको मन्त्री काफ्लेद्वारा अनुगमन
२४ भाद्र, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको स्थलगत अनुगमन गर्नुभएको छ ।
सोमबार मन्त्री काफ्लेले हेटौंडा–६ स्थित गौरीटार रंगशाला, हेटौंडा १० स्थित पाउडर दूध तथा बटर उद्योग र हेटौंडा ११ मा निर्माणाधिन प्रादेशिक तरकारी थोक बजारको अनुगमन गर्नुभएको हो । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको गौरीटार रंगशालामा निर्माणाधिन क्रिकेट स्टेडियम, फुटबल मैदान, पौडीपोखरीको स्थलगत निरिक्षण गर्दै मन्त्री काफ्लेले समयसिमा भित्रै कार्य सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
राज्यका निकायले चासो नदिंदा प्रदेश लगानीमा बन्ने संरचनाहरु माथी प्रश्न उठ्ने गरेको उहाँको भनाई छ । मन्त्री काफ्लेले प्रदेश गौरवकै आयोजनाहरु गौरव गर्न लायक नबने प्रदेश सरकारले गौरव चाँही के मा गर्ने भन्दै प्रश्न समेत गर्नुभयो ।
यसैगरी मन्त्री काफ्लेले मोडालिटी बनाएर पाउडर दूध तथा बटर उत्पादन उद्योग संचालन गर्न आग्रह गर्नुभयो । अध्ययनबिना नै हचुवाका भरमा लगानी गर्दा प्रदेशको करौडौं रकम अनुत्पादक हुने गरेको उहाँले बताउनुभयो ।
मन्त्री काफ्लेले हेटौंडा ११ थानाभ¥याङमा निर्माणाधिन प्रादेशिक कृषि थोक बजारको पनि अनुगमन गर्नुभएको छ । अनुगमनमा सम्बन्धित मन्त्रालयका सचिव, विभिन्न महाशाखा तथा शाखा प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।