सुधारिएको कर्मचारी तन्त्र नै कर्मचारी तन्त्रको उपयुक्त विकल्पः प्रमुख सचिव कार्की

मनिल महतो
२२ भाद्र २०८१, शनिबार १४:०७

२२ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारका प्रमुख सचिव गाेविन्दबहादुर कार्कीले कर्मचारी तन्त्रको कुनै विकल्प नभएको बताउनुभएको छ ।
उहाँले सुधारिएको कर्मचारी तन्त्र नै कर्मचारी तन्त्रको उपयुक्त विकल्प भएको बताउनुभयो । निजामती सेवा दिवस २०८१ को अवसरमा प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख सचिव कार्कीले सेवा प्रवाह र कानुन निर्माणमा निजामती कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । कर्मचारीहरुले सुधारको प्रयत्न अरुबाट भन्दा पनि आफैबाट गर्नुपर्ने उहाँको भनाई छ ।
प्रमुख सचिव कार्कीले कर्मचारी प्रशासनमा संक्रमण रहेको समेत बताउनुभयो । संक्रमणको अवधि कहिलेसम्म रहने थाहा नहुँदा कर्मचारी प्रशासनमा द्विविधा रहेको उहाँको भनाई छ । प्रमुख सचिव कार्कीले संघीय प्रणाली लागु भएको ७ वर्षको अवधिमा पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद भएको बताउनुभयो । प्रदेश सरकारले बनाएका निजामती ऐनसंग हाल कार्यान्वयनमा रहेका संघीय ऐन बाँझिदा सार्वजनिक प्रशासन सेवामा प्रत्यक्ष असर पुगेको उहाँको भनाई छ ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले कर्मचारीले सुशासनमा ध्यान दिन नसकेको, सिर्जनशील हुन नसकेको भन्ने आरोपलाई खण्डन गर्दै कर्मचारी प्रशासनले सिर्जनशील भएर पेशागत व्यवसायिकतालाई अभिवृद्धि गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई छ ।
व्यावसायिक र सिजनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८१ का अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत समेत गरिएको थियो । यसअघि भुटनदेवी माविको चौरबाट सुरु भएको प्रभात फेरी प्रदेश सुशासन केन्द्रको तालिम हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*