हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसद्वारा बहिष्कार

स्वर्णिम खबर
२० भाद्र २०८१, बिहीबार १७:२२

२० भाद्र, हेटौँडा । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।
राजश्व परामर्श समितिको संयोजक समेत रहनुभएका उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गर्नुभएको हो । २९ सदस्यीय कार्यपालिकामा आज बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।
नेपाली कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीमा कर समायोजनको विषयमा छलफल जारी रहेकाले आज बोलाइएको बैठकमा उपस्थित नभएको जानकारी दिनुभयो ।
बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित गरेको बताउनुभयो ।
यता हेटौंडा–१ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपानेले उपमेयरसहित कांग्रेसका र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित एक जना गरी १० जना वडा अध्यक्षहरू बैठकमा उपस्थित नभएको जानकारी दिनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा साउन अन्तिममा कर वृद्धि विरूद्ध चरणबद्ध आन्दोलन भएको थियो । ३२ साउनमा व्यवसायीसँग उपमहानगरले कर वृद्धिको निर्णय फिर्ता लिनेसहित ८ बुँदे सहमति गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*