खेलकर्मी र डकर्मी महिला जागरुक महिला सम्मानबाट सम्मानित
१९ भाद्र, हेटौँडा । सामुदायिक रेडियो, रेडियो मकवानपुरले २ जना महिलालाई जागरुक महिला सम्मान प्रदान गरेको छ ।
हेटौंडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छिन् । ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् । ढुङ्गाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छिन् । दुवैजनालाई रेडियोले जनही नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको हो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन् । कार्यक्रममा बोल्नुहुँदै मन्त्री काफ्लेले महिलाहरुलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वर्तमान र भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रेडियोले स्थापनाकालदेखि नै तिजको सन्दर्भमा दुई महिलालाई जागरुक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, वडा नं. ११ की वडा अध्यक्ष जुना दाहाल लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीहरुलाई रेडियोले पुरस्कृत समेत गरेको छ ।