संविधान दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा ४३ सदस्यीय मुल समारोह समिति गठन

स्वर्णिम खबर
१८ भाद्र २०८१, मंगलवार १८:११

१८ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरेको छ ।
मंगलबार मुख्यमन्त्री बहादुर सिहं लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले संविधान दिवसलाई भव्य रुपमा मनाउनका लागि ४३ सदस्यीय प्रदेश स्तरीय संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन गरेको हो । मुख्यमन्त्री अध्यक्ष रहेको समितिमा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापतिहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, स्थानीय तहको प्रमुख लगायतका प्रतिनिधि रहेका छन् । दिवसको अवसरमा असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने बैठकले निर्णय गरेको छ ।
बैठकमा बोल्नुहुँदै मुख्यमन्त्री लामाले संघीयताको औचित्यलाई पुष्टि गर्ने गरी संविधान दिवस मनाउनुपर्ने बताउनुभयो । उहाँले संविधानबाट प्राप्त उपलब्धिहरुको बारेमा सर्वसाधारणलाई जानकारी हुने गरी कार्यक्रमहरु गर्न पनि सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।


दिवसको अवसरमा प्रदेश सरकारले निबन्ध प्रतियोगिता, वृक्षारोपण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, सार्वजनिक सवारी साधनमा राष्ट्रिय झण्डा फहराउने लगायत विभिन्न कार्यक्रमहरु गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले असोज ३ गते संविधान दिवसको दिन भुटनदेवी स्कुलको चौर देखि बुद्धचोक–चौकिटोल–मानसचोक हुँदै मूल समारोह स्थल मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी निकाल्ने निर्णय गरेको छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम हुने सचिव दर्जीले बताउनुभयो । असोज २, ३ र ४ गते सबै मन्त्रालय, मतहतका कार्यालयमा दीप प्रज्वलन गर्ने र राष्ट्रिय झण्डा फहराउने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*