तुलसीमेहरका विद्यार्थीले दुर्घटना बापतको बीमा रकम पाए
१७ भाद्र, हेटौँडा । हेटौंडा १० स्थित तुलसीमेहर मेमोरियल स्कुलका विद्यार्थीले दुर्घटना बापतको बीमा रकम पाएका छन् ।
दुर्घटनामा परि उपचार गराएका २ जना विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बिच उपचारमा लागेको रकम युनाइटेड अजोड इन्स्युरेन्स मार्फत् विद्यार्थीका अभिभावकलाई प्रदान गरिएको हो । हात भाँतिएर उपचार गराएकी दीपशिखा गोलेले ४८ हजार र सपना केसीले ५ हजार ५ सय रुपैयाँ उपचार खर्च प्राप्त गरेका हुन् ।
यस विद्यालयले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको भैपरि आउने दुर्घटना बापत दुर्घटना बीमा गरेको छ । दुर्घटना बीमा बापत अभिभावकबाट २ सय र विद्यालय प्रशासनबाट १ सय ७५ थप गरि प्रति विद्यार्थी वार्षिक ३ सय ७५ प्रिमियम बीमा कम्पनीलाई बुझाउने गरिएको विद्यालयका प्रिन्सीपल रघुनाथ खरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य १० जना विद्यार्थीको बीमा दाबी रकम आउने क्रममा रहेको छ । यो दुर्घटना बीमा कार्यक्रम मार्फत् २४ सै घण्टा विद्यार्थीको जोखिम वहन गर्नेछ । विद्यार्थीले १ लाख सम्मको बीमा सुविधा प्राप्त गर्नेछन् । यस विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् ।