हेटौंडा अस्पतालमा आइतबारदेखि विस्तारित ओपिडी सेवा सुरु हुने

स्वर्णिम खबर
१४ भाद्र २०८१, शुक्रबार १७:४१

१४ भाद्र, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालले विस्तारित ओपिडी सेवा सुरु गर्ने भएको छ ।
भाद्र १६ गतेदेखि शनिबार बाहेक दिउँसो ४ बजेदेखि देखि बेलुका ६ बजेसम्म अस्पतालले विस्तारित ओपीडि सेवा सुरु गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पतालका निर्देशक धिरेन्द्र गिरीले विरामीको अध्याधिक चापलाई मध्यनजर गर्दै विस्तारित बहिरंग सेवा इ.एच.एस अर्थात् पेइङ सेवा सुरु गर्न लागिएको बताउनुभयो । यस सेवामा विशेषज्ञ चिकित्सकबाट मात्र सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।


पेइङ सेवाका लागि टिकट शुल्क ५ सय तोकिएको उहाँले बताउनुभयो । पेइङ सेवा मार्फत् जनरल मेडिसिन, स्त्री तथा प्र्रसूति विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, मनोरोग सेवा, भिडीयो एक्सरे सेवाका साथै ल्याब सेवा समेत उपलब्ध हुने निर्देशक गिरीले बताउनुभयो । ल्याव परिक्षण शुल्क भने अस्पतालले तोके अनुसारकै हुने उहाँले जानकारी दिनुभयो ।
यसैगरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले चिकित्सक निजी स्वास्थ्य संस्थामा बिरामी हेर्न जाने अवस्थाको अन्त्यका लागि अस्पतालमै पेइङ सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
यस्तैगरी अस्पतालले आइतबारदेखि लागू हुनेगरी बीमाका विरामीका लागि अनलाइन प्रणालीबाट टिकट लिने व्यवस्था गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*