हस्तकला ग्राम बिधेयकमा उद्यमीहरुका बिषय समेट्न सुझाव

स्वर्णिम खबर
१३ भाद्र २०८१, बिहीबार १९:१४

१३ भाद्र, हेटौँडा । प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयकका विषयमा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति र सांसदलाई सरोकारवाला निकायले उद्यमीहरुका बिषय समेट्न सुझाब दिएका छन् ।
उक्त विधेयकका सम्बन्धमा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जनपत्र मिडिया प्रा.लिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका उद्योगी, व्यवसायी, मानवअधिकारकर्र्मी, हस्तकला व्यवसायी, घरेलु तथा साना उद्योगमा आवद्ध व्यावसायी तथा मजदुर, सहकारीका सञ्चालक, लुघु उद्यमीहरु, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतकाले आफ्ना सुझाबहरु दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले यस विधेयकलाई व्यवस्थित बनाएर संसदमा पेश गर्ने बताउनुभयो । बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य भारती पाठकले विधेयकमाथि छलफल गर्न कै लागि सरोकारवालहरुसंगको अन्तरक्रियाको आवश्यकता महसुस भइरहेको समयमा यस कार्यक्रम अति प्रभावकारी भएको बताउनुभयो ।


बागमती प्रदेशसभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरु ठुला थामी, बालकुमारी विश्वकर्मा, भुवन केशरी श्रेष्ठ, रुकु चौलागाँइ, धनेश्वरी प्रजापति लगायतले नागरिकका सुझावलाई समेट्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपध्यक्ष अनिल अग्रवाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, घरेलु तथा साना उद्योग महिला समिति सभापती गिता मैनाली र हिराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा लगायतले सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*