आर्थिक वर्ष २०८०÷८१ मा ४२ दशमलब २६ हेक्टर अतिक्रमण जमिन नियन्त्रणमा
१२ भाद्र, हेटौँडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा ४२ दशमलब २६ हेक्टर अतिक्रमण जमिन नियन्त्रणमा लिएको छ ।
बुधबार प्रदेशसभा सचिवालयमा बसेको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा मन्त्रालयको आर्थिक वर्ष २०८०÷८१ को प्रगति विवरण प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले प्रदेशभर अतिक्रमण भएका जमिनहरुलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभएको हो । प्रदेशभर ३ सय ४० हेक्टर जमिनमा वृक्षारोपण गरेको प्रदेश सरकारले ६ लाख ९६ हजार विरुवा र ३ लाख ५७ हजार केजी जडीबुटी उत्पादन र बिक्री वितरण गरेको जनाएको छ ।
त्यसैगरी ४० हजार रिचार्ज÷ संरक्षण पोखरी निर्माण गरेको सचिव प्रधानले बताउनुभयो । पहिरो नियन्त्रण, खोला किनार संरक्षणको लागि ७ सय ७८ वटा स्थानमा संरचनाहरु निर्माण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै ११ वटा सव डिभिजन वन कार्यालयको भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।
यसैगरी मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा कुल विनियोजन बजेट मध्ये चालु खर्च तर्फ ६४ दशमलब ३० प्रतिशत, पुजीगत तर्फ ८४ दशमलब ५३ प्रतिशत र सशर्त अनुदान तर्फ ७९ दशमलब ३१ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा मन्त्रालयले विभिन्न शीर्षक अन्तर्गत २० करोड ६ लाख ६४ हजार राजश्व संकलन गरेको छ ।
अनुगमन तथा मुल्याङ्कन प्रभावकारी नहुँदा र कानुनी प्रावधानको परिपालनामा सरोकारवालाहरु उदासिन हुँदा लक्ष्य अनुसारको खर्च हुन नसकेको सचिव प्रधानको भनाई छ । जिल्ला वन पैदावार आपूर्ति समिति सञ्चालन सम्बन्धी कार्यविधि २०८१ को सहमतिको लागि आर्थिक मामिला मन्त्रालयमा पठाइएको सचिव प्रधानले बताउनुभयो ।