१० नं.वडा उपमहानगरको पाँचौ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
८ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका १० नं. वडा उपमहानगरको पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै १० नंं. वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
यस वडाले ५१ वटा सुचकलाई पार गर्दै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । बालमैत्री वडा घोषणा आफुहरुको ठुलो उपलब्धि भएपनि यसको दिगोपना र निरन्तरता ठुलो चुनौती रहेको उहाँले बताउनुभयो । यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकहरुमध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । बाँकी सूचकमध्ये एकमा ९५ प्रतिशत, एकमा ८१ प्रतिशत प्रतिशत नतिजा प्राप्त गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो । यस वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९५ जना बालबालिका रहेका छन् । सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालय रहेको यस वडाका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । यसअघि हेटौंडा २, ७ ८ र १७ नं. वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।