१७ नं. वडा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
७ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं.१७ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको चौथो बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले ५१ वटा सुचकलाई पार गर्दै चौथो बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको वडा अध्यक्ष उद्धव सत्यालले बताउनुभयो । बालमैत्री वडा घोषणा आफुहरुको ठुलो उपलब्धि भएपनि यसको दिगोपना र निरन्तरता ठुलो चुनौती रहेको उहाँले बताउनुभयो । यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकहरुमध्ये ४८ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमध्य एकमा ९८ प्रतिशत, एकमा ८१ प्रतिशत, एउटामा ८० प्रतिशत नतिजा प्राप्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख राजेश बाँनया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । यसअघि हेटौंडा २, ७ र ८ नं. वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।