तामाङ र नेवारी भाषाको लागि अनुवादक राख्ने प्रक्रिया अगाडि बढिसक्योः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
६ भाद्र २०८१, बिहीबार १९:२२

६ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले भाषा ऐनको कार्यान्वयनको सुरुवात भइसकेको बताउनुभएको छ ।
९२ औं तामाङ पहिचान दिवसको अवसरमा नेपाल तामाङ धेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेशसभामा तामाङ र नेवारी भाषाको लागि अनुवादक राख्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । प्रदेशसभाबाट सर्वसम्मतिले पास भएको भाषा ऐन तामाङ समुदायको महत्वपूर्ण सम्पत्ति भएको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले तामाङ र नेवारी समुदायहरुको पहिचान र अधिकारलाई ऐनले सुरक्षित गरेको बताउनुभयो ।
तामाङ समुदायको बहुल्य रहेको प्रदेशको नेतृत्व गर्न पाउँदा आफुलाई गौरवको महसुस भएको समेत उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले तामाङ समुदायहरु अब आर्थिक रुपमा सबल हुनुपर्ने बताउनुभयो । विगतमा परम्परागत ढंगले गर्दै आएको व्यवसायलाई बैज्ञानिक ढंगले गरी उद्यमशील बन्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा २०८० को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने १६ जना तामाङ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । मकवानपुरका जिल्ला अध्यक्ष कालु घलाङको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेपाल तामाङ धेदुङ संघीय विभाग प्रमुख सुनिल मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*