हेटौंडा उपमहानगरपालिका १० नं. वडा भदौ ८ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने
३ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० भदौ ८ गते निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बालमैत्री वडा घोषणाका लागि सबै सुचक पुरा भएको जानकारी गराइएको छ । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको १० नम्बर वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक फुर्वा दोर्जे लामाले बताउनुभयो । बाँकी सूचकमध्ये एकमा ९५ प्रतिशत, एकमा ८१ प्रतिशत प्रतिशत नतिजा प्राप्त गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा को चरण मा आएको उहाले बताउनु भयो । बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि पञ्चवर्षे रणनीतिक योजना अनुसार कार्य गर्ने उहाँले बताउनुभयो ।
यस वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९५ जना बालबालिका रहेका छन् । सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालय रहेको यस वडाका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको वडा कार्यालयले जनाएको छ । टिसियन चौरबाट सुरु हुने बृहत प्रभातफेरी सहितको ¥यालीले वडा परिक्रमा गर्दै कार्यक्रम स्थल सोलिड्यारिटी एकेडेमीको सभाहलमा पुग्ने बताइएको छ ।