सरकारले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलागौँः उपप्रधानमन्त्री सिंह
३ भाद्र, काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताउन भएको हो । नेवाः सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गर्नुभयो ।
जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । उहाँले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताउनु भयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवाः समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भुमिकाको पनि खुलेर प्रशंशा गर्नुभयो ।