हेटौंडा वडा नं.७ उपमहानगरको तेस्रो बालमैत्री वडा घोषित
१ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं.७ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको तेस्रो बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले ५१ वटा सुचकलाई पार गर्दै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको वडा अध्यक्ष दामोदर गौतमले बताउनुभयो । यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकहरुमध्ये ४६ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा हासिल गरेको वडा अध्यक्ष गौतमले बताउनुभयो । यस वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९८ बालबालिका रहेका छन् । १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेका उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले बालमैत्री घोषणाको दिगोपनाका लागि लगानी योजना र पञ्चवर्षे रणनीतिक योजना दस्तावेज तयार पारिएको बताउनुभयो ।
उक्त अवसरमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटनका अवसरमा बौद्धिक अपांगता भएका बालबालिकाले सास्कृतिक प्रस्तूति दिएका थिए ।