हेटौंडा १७ लाई भाद्र ७ गते बालमैत्री वडा घोषणा गरिने
३२ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
भाद्र ७ गते शुक्रबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणागरिन लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४८ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको १७ नम्बर वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक उद्धव सत्यालले बताउनुभयो । बाँकी सूचकमध्य एकमा ९८ प्रतिशत, एकमा ८१ प्रतिशत, एउटामा ८० प्रतिशत नतिजा प्राप्त गरेको छ ।
बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि पञ्चवर्षे रणनीतिक योजना अनुसार कार्य गर्ने उहाँले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि गत आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको यस वडाले चालू आर्थिक वर्षमा सोही शीर्षकमा २० लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालयबाट ¥याली सहित कार्यक्रमस्थल नेपालचौर स्थित फुटसल मैदान पुग्ने बताइएको छ ।
वडामा घरधुरी तथ्याकं संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्षमुनिका २ हजार १ सय १० जना बालबालिकाहरु रहेका छन् । जसमा १ हजार १ सय ३० बालक र ९ सय ८० बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्र सहितका ५ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । त्यस्तै २२ वटा बालसमुह र १ वटा बालसञ्जाल रहेको छ । जसमा ५ सय ५० जना बालबालिकाहरु आवद्ध छन् ।