घोषणा भएको पुरस्कार रकम उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण
३१ श्रावण, हेटौँडा । घोषणा भएको पुरस्कार रकम उपलब्ध गराउन माग गर्दै नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहिबार संघका केन्द्रिय सदस्य अजित गुरुङ सहितको टोलीले प्रदेशको युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र मन्त्रालयका सचिव रुद्र प्रसाद लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रोत्साहन स्वरुप दिने भनिएको पुरस्कारको रकम हालसम्म पनि प्राप्त नभएको संघको ठहर छ । प्रदेश सरकारको यस कदमबाट पदक जित्ने खेलाडीहरुमा निराशा थपिएको संघको भनाई छ ।
ज्ञापनपत्र मार्फत संघले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पुरस्कार उपलब्ध गराई दिन पनि सरकारसंग आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री महर्जनले आफु पनि पूर्व खेलाडी भएकोले घोषणा भएको पुरस्कारको रकम खेलाडीलाई उपलब्ध गराउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री महर्जनले खेलाडीलाई रकम गराउन मुख्यमन्त्रीसंग विभिन्न चरणमा छलफल भएको र यस विषयमा स्वयम् मुख्यमन्त्री पनि सकारात्मक रहेको बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भएता पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताउनुभयो ।
२ वष अगाडि तत्कालिन खेलकुद मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी १ सय ४५ पदक जितेको थियो ।