हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा बोलाउन माग
३० श्रावण, हेटौंडा । राजश्व दरमा अस्वभाविक बृद्धि गरेको विषयप्रति विरोध जनाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा राख्न माग गरेका छन् ।
उपमहानगरले चालू आर्थिक वर्षमा करको दरमा अस्वभाविक बृद्धि गरेपछि संशोधन गर्नुपर्ने एजेन्डासहित विशेष नगर सभाको माग गरिएको हो । बुधबार नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग गर्दै प्रमुख प्रशासकिय अधिकृत मार्फत् नगर प्रमुख र उपप्रमुखलाई निवेदन पेश गरेका हुन् । विशेष नगर सभा माग पछिको पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बागमती प्रदेश सरकारको गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि र हेटौंडा उपमहानगरपालिकाको नगर सभा संचालन कार्यविधि २०७४ बमोजिम विशेष नगर सभा बोलाउन माग गरिएको बताउनुभयो । जनताको अभिमतद्धारा निर्वाचित जनप्रतिनिधिहरुको निर्णयले जनतालाई नै मारमा पर्ने अवस्था श्रृजना हुनु दुखद रहेको उहाँको भनाइ छ ।
नगरसभा आव्हान नगरिए हेटौंडा उपमहानगरपालिकाका सबै कार्यक्रम बहिष्कार गर्ने एमाले जनप्रतिनिधिले चेतावनी दिएका छन् । विशेष नगर सभा बैठक आव्हान पत्रमा ४८ सदस्यहरूले हस्ताक्षर गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ९४ नगरसभा सदस्य रहेका छन् ।