प्रहरीले नागरिकसंग गर्ने व्यवहारबाटै राज्यतर्फ नागरिकको धारणा तय हुन्छः मुख्यमन्त्री लामा

मनिल महतो
३० श्रावण २०८१, बुधबार १६:३०

३० श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभुति गर्ने बताउनुभएको छ ।
प्रहरीले नागरिकसंग गर्ने व्यवहारबाटै राज्यतर्फ नागरिकको धारणा तय हुने उहाँको भनाई छ । बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित साँढे ५ तले प्रशासनिक भवनको बुधबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले जनतालाई राज्यबाट दिन सकिने पहिलो सेवा नै प्रहरी सेवा भएकोले प्रहरी संगठन सेवा प्रवाहमा संवदेनशील बन्नुपर्ने बताउनुभयो । नवनिर्मित भवनबाट प्रदेशभर शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई थप सहज हुने मुख्यमन्त्री लामाको विश्वास छ । अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान, विपद्, उद्धार जस्ता जनमुखी प्रहरी सेवा प्रदान आधुनिक प्रहरी संगठनबाट मात्र सम्भव हुनेमा कुनै द्विविधा नरहेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले बागमती प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले संविधानमा व्यवस्था भए अनुरुपको अधिकारको प्रत्यायोजन अझै हुन नसकेको बताउनुभयो । संघीयताको प्रभावकारी कार्यान्वयनको लागि प्रहरी समायोजन हुनुपर्ने उहाँको भनाई छ । मन्त्री लामिछानेले प्रदेश प्रहरीको बारेमा रहेको द्विविधालाई हटाउन राजनीतिक नेतृत्वहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले प्रहरी संगठनलाई प्रविधि मैत्री बनाई अपराध नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी बागमती प्रदेश प्रहरी प्रमुख विष्णुबहादुर केसीले प्रहरी संगठनको भौतिक संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभयो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड तीन लाख रुपैयाँ र प्रहरी प्रधान कार्यालयले १७ करोड ६८ लाख गरी कुल २० करोड ५४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । नयाँ प्रशासनिक भवनमा एकसय ११ वटा कोठा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*