कर बृद्धिको विरोध जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलनमा
२८ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले करको दरमा बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि घरवाहल करदेखि विभिन्न व्यवसायमा लिंदै आएको राजश्वमा १६ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेपछि संघले विरोध जनाएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले उपमहानगरले अनाधिकृत रुपमा राजश्वको दरमा बृद्धि गरेर व्यवसायीलाई थप धरासयी बनाउन खोजेको आरोप लगाउनुभयो । बढेको राजश्वको दरलाई तत्काल नबढाई यथास्थितिमा कायम गर्न पनि संघले माग गरेको छ । अध्यक्ष अग्रवालले माग सम्बोधन नभएमा दोस्रो चरणमा सडक र न्यायिक दुबै ढंगबाट आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार बढेको कर नतिर्न व्यवसायीलाई आह्वान गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी मार्फत् संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने र बुधबार हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा शान्तिपूर्ण धर्ना दिने, विभिन्न स्थानमा कालो व्यानर राखेर विरोध जनाउने निर्णय भएको छ । यस्तै बिहीबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने तयारी भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । शुक्रबार ¥यालीसहित स्वतस्फुर्त रुपमा व्यवसाय बन्द गरी उपमहानगरपालिकामा चावी बुझाउने संघको तयारी छ ।