राज्यले युवाहरुको महत्वलाई बुझ्न सकेनः मन्त्री महर्जन

स्वर्णिम खबर
२८ श्रावण २०८१, सोमबार १६:४७

२८ श्रावण, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले युवाहरुको महत्व बुझ्न नसकेको बताउनुभएको छ ।
राज्यको हरेक क्षेत्रमा युवाहरुको महत्वपूर्ण भुमिका भएपनि त्यसलाई नेतृत्व वर्गहरुले बुझ्न नसकेको उहाँको भनाई छ । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमती प्रदेश युवा परिषद्ले गरेको कार्यक्रममा बोेल्नुहुँदै उहाँले सरकारले युवाको महत्व नबुझदा दिनप्रतिदिन ठुलो संख्यामा युवाहरु जनशक्ति विदेशिन बाध्य भएको बताउनुभयो । मन्त्री महर्जनले राजनीतिक, आर्थिक सहित नीति निर्माणको तहमा युवा सहभागिता अनिवार्य गरिनुपर्ने बताउनुभयो । युवा खेलकुद जस्तो क्षेत्रमा कम बजेट विनियोजन भएकोप्रति मन्त्री महर्जनले दुःख व्यक्त गर्नुभयो । मन्त्री महर्जनले युवालाई विदेश पलायन रोक्न स्वदेशमै युवा स्वरोजगार श्रृजना गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याएर युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहने समेत उहाँले बताउनुभयो ।


यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले नेपालमा २०७२ सालमा युवा नीति बनेदेखि महान चाडको रुपमा युवा पुस्ताले यो दिवस मनाउँदै आएको बताउनुभयो । परिषद्ले राज्य र युवालाई जोड्ने पुलको काम गरिरहेको उहाँको भनाई थियो । हरेका क्षेत्रमा युवा साझेदारी निश्चित गर्नका निमित्त प्रदेश युवा परिषदले युवा लक्षित कार्यक्रम गर्दै आएकोे समेत उहाँले बताउनुभयो ।


कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत भानु थपलियाले डिजिटिलाइजेशनको बारेमा प्रस्तुती दिनुभएको थियो । यस वर्षको युवा दिवसको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*