सामुदायिक वन दिवसः सामुदायिक वन समुह र सञ्चारकर्मी सहित १० जना सम्मानित
२५, श्रावण, हेटौडा । नवौं सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले शुक्रवार हेटौडामा विचार गोष्ठी सहित सञ्चारकर्मी र सामुदायिक वन समूहलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताउनुभयो । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै वन क्षेत्रको समग्र विकासमा तीन वटै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक वनले गरेका क्रियाकलापहरुलाई जनसमुदाय माझ पु¥याउन महत्वपूर्ण योगदान गर्नु हुने समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
यसैगरि सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ठ कार्य गर्ने सामुदायिक वन समूहलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटौडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन, मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन र स्थानीय महासंघ थाहालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय सदस्य रामहरि चौलागाई, वन विशेषज्ञ जगदिश चन्द्र बराल, फेकोफन बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, नेपाल हस्तकला संघ, बागमती प्रदेश उपाध्यक्ष कमला सुवेदी, फेकोफन मकवानपरका कोषाध्यक्ष बलराम अधिकारी लगायतको सहभागिता थियो ।