बहुमतको बलमा संविधान संशोधन हुँदैनः उपप्रधानमन्त्री सिंह
२५ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताउनुभएको छ ।
शुक्रवार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताउनुभएको हो । उहाँले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताउनु भयो । अधिकार दिने कुराहरुमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री सिंहले काँग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताउनुभयो ।
उहाँले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने बताउनु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरुलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताउनुभयो ।