डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा देखाएको छैनः कुलमान घिसिङ

स्वर्णिम खबर
२५ श्रावण २०८१, शुक्रबार १७:००

२५ श्रावण, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गर्नुभएको छ ।
शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उल्लेख गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताउनु भयो । उहाँले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको दाबी गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७२÷७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यस यता भने विगत फर्केर हेर्नु नपरेको उल्लेख गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले यसअवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको बताउनु भयो ।
कार्यकारी निर्देशक घिसिङले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँचमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको उल्लेख गर्नुभयो । उहाँले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक घिसिङले विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*