लगातारको हवाई दुर्घटनाले नेपाली आकाश सुरक्षित नभएको संकेत गरेको छः मन्त्री गुरुङ

स्वर्णिम खबर
२४ श्रावण २०८१, बिहीबार १७:५७

२४ श्रावण, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहिबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । मन्त्री गुरुङले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । सरकारको नीति, व्यवस्थापन, प्रविधि वा आकाश के मा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने मन्त्री गुरुङले बताउनुभयो ।
हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना समेत प्रकट गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*