शुक्रबारदेखि लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन हुने

स्वर्णिम खबर
२४ श्रावण २०८१, बिहीबार १७:२९

२४ श्रावण, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भोली (शुक्रबार) देखि लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्रावण २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो । यस अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने तयारी रहेको बताइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु मार्फत खोप अभियान सञ्चालन हुनेछ । स्थानीय तहहरुको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप कार्य सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । खोप अभियानको लागि मन्त्रालयले ३ सय ७६ जना भ्याक्सिनेटर समेत नियुक्त गरेको छ । शुक्रबार मकवानपुरगढी स्थित कृषि फार्ममा रहेको गाईलाई खोप लागाएर मन्त्रालयले अभियानको औपचारिक सुरुवात गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री प्रकाश श्रेष्ठले प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा खोप अभियानलाई तीव्रता दिइने बताउनुभयो ।
नेपालमा लम्पी स्किन रोगका कारण ७५ अर्ब ४८ करोडको आर्थिक क्षती भएको तथ्यांक छ । लम्पी स्किन रोगको खास उपचार नभएकाले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति खोप नै रहेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*