मोहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकारको प्रमुख
२३ श्रावण, एजेन्सी । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ ।
राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसक्नुभएको थियो । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको थियो ।
युनुस अहिले उपचारका लागि फ्रान्समा हुनुहुन्छ । सरकार प्रमुखमा चुनिएपछि उहाँ अब स्वदेश फर्किने तयारीमा रहेको छ । उहाँले गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो ।
उहाँ पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिनुहुन्छ । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गर्नुभएको थियो । गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।