मुलुकमा अब विकास निर्माणको गति रोकिंदैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२१ श्रावण २०८१, सोमबार १७:५४

२१ श्रावण, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब विकास निर्माणको गति नरोकिने बताउनुभएको छ ।
काठमाडौँ–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ब्रेक थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले नयाँ प्रविधियुक्त ढंगले लामा सुरुङ निर्माणमा ब्रेक थ्रु एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको उल्लेख गर्नुभयो । द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पार्नुभयो । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवद्र्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तका रुपमा द्रुतमार्ग भएको प्रधानमन्त्री ओलीको भनाई छ ।


प्रधानमन्त्री ओलीले आयोजनाहरुलाई सुरु गरेर छाड्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । नयाँ नयाँ योजना थाल्नुभन्दा पनि सुरु गरिएका आयोजनाहरु सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको समेत जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिको उपयोग र प्रविधि हस्तान्तरण गरी विकासको गतिलाई बढाउनुपर्ने बताउनुभयो ।


यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । उहाँले विगतमा कोरोना महामारी लगायतको कारणले निर्माण कार्यमा केही ढिलासुस्ती भएको बताउनुभयो । यद्यपी आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने उहाँले घोषणा समेत गर्नुभयो । ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै प्रधानसेनापति शर्माले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताउनुभयो ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्योकजमा विभाजन गरी निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो दू्रत मार्गको लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।


द्रूतमार्गमा १० दशमलव तीन सय नौ किमी लम्बाइका छ वटा सुरुङ बन्ने छन् । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*