कर वृद्धिको विरोधमा निर्माण व्यवसायी संघले बुझायो ज्ञापनपत्र
२० श्रावण, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले वृद्धि गरेको करको विरोधमा निर्माण व्यवसायी संघ मकवानपुरले ज्ञापनपत्र बुझाएको छ ।
संघका महासचिब राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा आइतबार व्यवसायीको समूहले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण व्यवसायी समेत चरम मारमा परेको अवस्थामा उपमहानगरले कर बढाएर गैरजिम्मेवारी पन देखाएको संघको ठहर छ । बजारको माग र आपूर्ति सन्तुलन पुरै बिग्रिएको अवस्थामा व्यवसाय तथा बजार उकास्ने नीति लिन समेत संघले उपमहानगरलाई आग्रह गरेको छ । कर बृद्धि हुँदा निर्माण व्यवसायीले व्यवसाय नवीकरण नै गर्न नसक्ने अवस्था सिर्जना भएको समेत संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
तत्काल बढाइएको कर शुल्क परिमार्जन गरी विकास निर्माणको कार्यमा सहज वातावरण बनाउन संघले ज्ञापनपत्र मार्फत उपमहानगरपालिकालाई आग्रह गरेको छ ।