वर्तमान सरकारले जनताको विश्वास जित्ने गरी काम गर्छः नेता थपलिया
२० श्रावण, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि वर्तमान गठबन्धन बनेको बताउनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थपलियाले स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताउनुभयो । बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने समेत उहाँले बताउनुभयो । प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्याएको समेत उहाँले जानकारी दिनुभयो । नेता थपलियाले बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको बताउनुभयो । उहाँले फोटोग्राफी तालिमलाई सार्थक बनाउनेगरी उपयोग गर्न पनि सुझाव दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरति पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, पत्रकार सुरेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारी लगायतले बोलेका थिए । ७ दिनसम्म भएको तालिममा ७८ जना सहभागी थिए ।