संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील छन्ः प्रधानमन्त्री ओली
२० श्रावण, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले प्रतिगमनका लागि काँग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरुले स्टन्टबाजीको रुपमा कुनैपनि काम नगर्ने बताउनुभएको हो । आईतवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उहाँले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने बताउनु भयो ।
उहाँले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दावी समेत गर्नुभयो ।