प्रदेश प्रमुखको गरिमा उच्च हुन सकेनः निवर्तमान प्रदेश प्रमुख शर्मा
१८ श्रावण, हेटौँडा । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको गरिमालाई उच्च राख्नुपर्ने बताउनुभएको छ ।
केन्द्रमा नयाँ सरकार बन्दा प्रदेश प्रमुख हटाउनु उचित नभएको उहाँको बुझाई छ । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा भएको बिदाई कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रदेश प्रमुखका लागि निर्वाचित परिपाटी लागु गर्नुपर्ने बताउनुभयो । नेपालको संविधानमै प्रदेश प्रमुखको कार्यकाल राष्ट्रपतिले फिर्ता नबोलाउँदा सम्म ५ वर्षको सम्म हुने उल्लेख भएतापनि त्यसो हुन नसक्नु दुःखद पक्ष भएको उहाँको भनाई छ । उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनको लागि पनि प्रदेश प्रमुखहरुको स्थायित्व जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम नै आफुले काम गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा १८ वटा विधेयक प्रमाणिकरण, ११ वटा अध्यादेश जारी र चिठ्ठा विधेयकलाई प्रदेशसभामै फिर्ता गरेको बताउनुभयो । केही प्राविधिक त्रुटिको कारण प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बिन्ध अध्यादेश जारी नगरिएको उहाँले स्पष्टिकरण दिनुभयो ।
शर्मा २०७८ भाद्र ४ गते बागमती प्रदेशको तेश्रो प्रदेश प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो ।